बर्दघाटको कजरिया टायल्समा दुई मजदुरको मृत्यु,शङ्कास्पद भएको भन्दै बिरोध प्रदर्शन
नवलपरासी,पुस १७ । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ ।
गए राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन् ।
घटना बिहान करिब ३ बजेतिर घटेपनी घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्रै प्रहरीलाई खबर गरेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन् । ग्यास च्याम्बरमा ग्यास खोल्ने क्रममा मृत्यु भएपनी घटना ढाकछोपका लागि दुवैको शव बाहिर ल्याएर सुताइएको स्थानीयको आरोप छ ।
उद्योगको ग्यासी फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परीक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले भने घटना शङ्कास्पद भएको र घटनाबारे आफूहरूलाई समयमा जानकारी नदिइएको भन्दै प्रदर्शन गरेका छन् ।

