प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानबीच भेटवार्ता



काठमाडौं,पुस १७ । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईंलगायतका प्रतिनिधिहरू सहभागी थिए ।

भेटवार्ताका क्रममा नागरिक बचाउ अभियानले उठाउँदै आएका समसामयिक विषय, नागरिकका समस्या तथा राज्यले लिनुपर्ने नीतिगत पहलका बारेमा प्रधानमन्त्री कार्कीलाई अवगत गराइएको जनाइएको छ । अभियान पक्षले जनजीवनसँग प्रत्यक्ष जोडिएका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री कार्कीले नागरिकका आवाजलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक प्रणालीभित्र रहेर उठाइने माग र सुझावप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले सरकार नागरिकको हित र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा पनि राख्नुभयो ।

भेटवार्तालाई सकारात्मक र अर्थपूर्ण भएको भन्दै दुवै पक्षले आगामी दिनमा संवाद र सहकार्यलाई निरन्तरता दिने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्