नुवाकोटको शिवपुरी आधारभूत अस्पताललाई १ करोड ७६ लाख बराबरका अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण



नुवाकोट,पुस १७। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपालद्वारा शिवपुरी गाउँपालिका–नुवाकोटस्थित शिवपुरी आधारभूत अस्पताललाई अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) अन्तर्गत एक लाख अमेरिकी डलर बराबरको ग्रान्ट तथा गाउँपालिका र लायन्स क्लब अफ काठमाडौं मिडटाउन र ओमकारको २५ प्रतिशत थप सहकार्यमा जम्मा १ करोड ७६ लाख २० हजार ३०९ रुपैयाँ बराबरका उपकरण अस्पताललाई उपलब्ध गराइएको हो ।

डिस्ट्रिक्ट ३२५ आइ नेपालकी गभर्नर लायन पार्वती खरेल पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पास्ट इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी लायन राजन लम्साल, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, IPDG लायन विनोद ढुङ्गाना, PMCC लायन मनबहादुर रोक्का, PDG लायन इन्दु लम्साल, 1st VDG लायन सूर्य केसी तथा गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्न यस्ता उपकरणले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उपकरण उपलब्ध भएसँगै अस्पतालमा प्रयोगशाला सेवा, दन्त उपचार, आँखा–कान परीक्षण, आकस्मिक उपचार तथा साना शल्यक्रियासमेत सहज हुने बताइएको छ ।

प्राप्त प्रमुख मेडिकल उपकरणहरू अस्पताललाई हेमाटोलोजी एनालाइजर, बायोकेमिस्ट्री एनालाइजर, इम्युन एसे एनालाइजर, इन्क्युबेटर, हट एयर ओभन, वाटर बाथ, सेन्ट्रिफ्युज, बायो सेफ्टी क्याबिनेट, ल्याब अटोक्लेव, पोर्टेबल ल्याब सेट, डेन्टल चेयर, पोर्टेबल डेन्टल एक्स–रे (ब्याट्री ब्याकअपसहित), RVG ल्यापटपसहित, स्केलर युनिट, क्युरिङ लाइट, आधारभूत आँखा तथा ENT चेकअप सेट, अल्ट्रासोनिक बोन डेन्सिटी मिटर, ग्लुकोज मोनिटरिङ सिस्टम, पल्स अक्सिमिटर, स्पाइरोमिटर, १२ च्यानल ECG मेसिन, माइनर OT टेबल, पोर्टेबल OT LED लाइट, क्विक अटोक्लेव, ड्रेसिङ तथा मेडिसिन ट्रली, क्र्यास कार्ट ट्रली, स्टाफ लकर, प्रतीक्षालय कुर्सी, ल्यापटप, सोलार हाइब्रिड ब्याकअप सिस्टम, फायर एक्स्टिङ्गुइशर, भूकम्प सुरक्षा सामग्री र फोहर व्यवस्थापनसम्बन्धी उपकरणहरू प्रदान गरिएको छ ।

कार्यक्रमको अन्त्यमा सहयोगी संस्था, दातृ निकाय र सहभागी सबैप्रति आभार व्यक्त गरिएको थियो । उपकरण हस्तान्तरणसँगै शिवपुरी आधारभूत अस्पतालको सेवा क्षमता उल्लेख्य रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्