नुवाकोट–२ बाट रास्वपाका दिनेश आचार्यको उम्मेदवारी घोषणा



नुवाकोट,पुस १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका साथीहरू, शुभचिन्तकहरू र नुवाकोट क्षेत्र नं. २ का मतदातासँग व्यापक सल्लाहपछि उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी दिनुभएको हो।उहाँले पार्टीको आन्तरिक प्रक्रिया र प्रतिस्पर्धामा सहभागी भई टिकटका लागि प्रयास गर्ने स्पष्ट पार्नुभएको छ।“पार्टीले टिकट दिए घण्टी चिन्ह लिएर तपाईंहरूको घरदैलोमा आउनेछु। टिकट नपाए पनि मतदाता र शुभचिन्तकहरूको सल्लाहअनुसार आगामी निर्णय लिनेछु,” आचार्यले फेसबुकमा उल्लेख गर्नुभएको छ।

नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिबाट आएका आचार्यले करिब ४० वर्षको राजनीतिक आवद्धता त्याग्दै गत वर्ष मात्रै रास्वपामा प्रवेश गर्नुभएको थियो। उहाँ लामो समय पत्रकारिता तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ। आचार्य नेपाली कांग्रेस नुवाकोटका पुराना नेता स्वर्गीय विष्णु आचार्यका सुपुत्र हुनुहुन्छ।

हाल व्यवसायिक क्षेत्रमा क्रियाशील आचार्यले रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति समेत असहमति जनाउँदै आउनुभएको छ। नुवाकोट क्षेत्र नं. २ मा रास्वपाबाट उम्मेदवारी आकांक्षा राख्ने अन्य नेताहरूमा सुमन पाण्डे र दामोदर नेपाल पनि रहेका छन्। २०७९ को निर्वाचनमा कांग्रेस नेता अर्जुननरसिंह केसीसँग पराजित भएका पाण्डे यसपटक पनि सक्रिय रूपमा मैदानमा देखिन थालेका छन् भने विवेकशील साझा पार्टीबाट आएका दामोदर नेपालले पनि उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्।

आचार्यले सामाजिक सञ्जालमार्फत सरसल्लाहका लागि सबैसँग सुझाव माग्दै आफ्नो उम्मेदवारीलाई जनआधारित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्