सुरक्षा सुनिश्चित नभए तोकिएको मितिमा निर्वाचन कठिन हुन्छ : मुख्यमन्त्री बाँनिया
मेलम्ची,पुस १७ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन सम्पन्न हुन कठिन हुने बताउनुभएको छ । सरकार स्वयंले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार ढंगले अघि नबढे देश थप अनिर्णयको बन्दी बन्ने उहाँको चेतावनी छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री बाँनियाले अफवाह फैलाउने र अराजक गतिविधिमा संलग्न समूहका कारण लोकतान्त्रिक प्रक्रिया कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै फैलाइएका अफवाह तथा सिंहदरबार जलाउनेजस्ता अभिव्यक्तिहरूले राजनीतिक वातावरण थप अस्थिर बनाएको आरोप लगाउनुभयो ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसके पनि सुरक्षा चुनौती समाधान नगरी निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नहुने मुख्यमन्त्री बाँनियाको भनाइ थियो । “विश्वासको वातावरण निर्माण सरकारकै दायित्व हो,” उहाँले भन्नुभयो, “सुरक्षा प्रत्याभूति बिना निर्वाचन केवल औपचारिकतामा सीमित हुन्छ ।”कार्यक्रममा मुख्यमन्त्री बाँनियाले जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिहरू बढ्दै गएको उल्लेख गर्दै यसलाई कुनै एक क्षेत्र वा निकायको समस्या नभई साझा चुनौतीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले मेलम्ची–गुफाडाँडा हुँदै पाँचपोखरी जाने सडक निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
विकास र राजनीति विषयमा धारणा राख्दै मुख्यमन्त्री बाँनियाले विकासलाई भोटसँग तुलना गर्नु गलत हुने बताउनुभयो । “भोटसँग विकास होइन, विकाससँग भोट आफैं आउँछ,” उहाँले भन्नुभयो, “त्यसैले नेताहरूले आफ्नो सोच र व्यवहारमा परिवर्तन गर्न जरुरी छ ।”
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चिया बगानसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गरी हिमाल अवलोकन गर्न सकिने स्थल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले २०७५ सालमा तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको पहलमा सुरु गरिएको ‘गुफाडाँडा दिवस’ को निरन्तरताका रूपमा यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उक्त दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तन विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै अब गम्भीर विमर्श र एकीकृत कार्यक्रममार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले मानिसको जीवनशैली वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिँदै गुफाडाँडालाई विपद्को समयमा सुरक्षित स्थान र पर्यटकीय सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

