‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा विदुर–७ मा अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नुवाकोट,पुस १७। विदुर नगरपालिका–७ स्थित जन जागृत युवा क्लबको आयोजनामा वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक अन्तर माध्यमिक तह (कक्षा ९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूमा राष्ट्रप्रति जिम्मेवारी, चेतना र नेतृत्वदायी सोच विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा विदुर नगरपालिकाका १३ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान, शिक्षा, अनुशासन, सामाजिक जिम्मेवारी तथा सकारात्मक सोचको भूमिकाबारे प्रभावशाली धारणा प्रस्तुत गरेका थिए।
कडा प्रतिस्पर्धाबीच सम्पन्न प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय, विदुर–४ ले प्रथम स्थान हासिल गर्न सफल भयो भने भैरुम माध्यमिक विद्यालय, विदुर–८ ले द्वितीय स्थान र पायनियर बोर्डिङ स्कुल, विदुर–७ ले तृतीय स्थान प्राप्त गरेको छ।
कार्यक्रममा उपस्थित अतिथिहरूले यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमहरूले विद्यार्थीको व्यक्तित्व विकासका साथै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।जन जागृत युवा क्लबले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
क्लबले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी, शिक्षक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ।

