काँग्रेसको नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशन वैधानिक दायित्व



काठमाडौँ,पुस १७ । नेपाली काँग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। काँग्रेसले यही पुस २६ गतेदेखि सुरु गर्ने भनिएको महाधिवेशन क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया अझै टुंगिन नसकेकाले स्थगित गर्नुपरेको जनाएको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशन स्थगित गरिएको जानकारी दिनुभएको हो। विज्ञप्तिमा केन्द्रीय महाधिवेशनअघि सम्पन्न गर्नुपर्ने वडा, क्षेत्र र जिल्ला अधिवेशनहरू गर्न नसकिएकाले केन्द्रीय महाधिवेशन आयोजना गर्न सम्भव नभएको उल्लेख छ।

महाधिवेशनको मिति तय भएपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको भए पनि हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ जनाको मात्र क्रियाशील सदस्यता नवीकरण भएको विज्ञप्तिमा जनाइएको छ। बाँकी प्रक्रिया नसकिएसम्म महाधिवेशन अघि बढाउन कठिन भएको काँग्रेसको निष्कर्ष छ।

महाधिवेशनका सम्पूर्ण कार्यतालिका स्थगित भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम भने निरन्तर जारी राख्न पार्टी पङ्तिलाई निर्देशन दिइएको छ। साथै, नियमित महाधिवेशन तोकिएको समयमा हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने संवैधानिक तथा वैधानिक दायित्व रहेको पनि महामन्त्रीद्वयले स्मरण गराउनुभएको छ।

विज्ञप्तिअनुसार काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्। यद्यपि, विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदा पनि सकेसम्म सर्वसम्मतिका आधारमा पार्टीलाई एकताबद्ध ढंगले अगाडि लैजाने प्रयास गरिने महामन्त्रीद्वयले स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्