कोठामा कोइला बालेर सुतेपछि निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, दुई जना बेहोस
कर्णाली, पुस १८ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठाभित्र कोइला बालेर सुतेका कारण निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने दुई जना बेहोस अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगर–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बसोबास गर्दै आएकी ३२ वर्षीया तारा बुढाकी ३८ दिनकी छोरी प्रतीक्षा बुढाको निस्सासिएर मृत्यु भएको हो।
प्रहरीका अनुसार चिसोबाट जोगिन कोठाभित्र कोइला बालेर सुतेको अवस्थामा कार्बन मोनोअक्साइड ग्यासको असरले शिशुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही घटनामा आमा तारा बुढा र उनकी १३ वर्षीया भदैनी सङ्गम बुढा समेत निस्सासिएर बेहोस अवस्थामा फेला परेका थिए।
बेहोस भएका दुवै जनालाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका लागि भर्ना गरिएको र हाल उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यस घटनाले जाडो मौसममा बन्द कोठाभित्र कोइला वा दाउरा बाल्दा हुने जोखिमप्रति सचेत रहन सबैलाई ध्यानाकर्षण गराएको छ।

