हेलिकप्टर चढेर वनभोज पुगे मुख्यमन्त्री बानियाँ, चिसोले आक्रान्त मधेशमा आलोचना चुलिँदै



काठमाडौँ, पुस १८ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर प्रयोग गरेर वनभोज कार्यक्रममा सहभागी भएपछि राजनीतिक र सामाजिक वृत्तमा चर्को आलोचना सुरु भएको छ। मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको बेला मुख्यमन्त्रीले वनभोजका लागि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर सर्वसाधारणदेखि राजनीतिक नेतासम्म असन्तुष्ट देखिएका छन्।

ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको अवसरमा कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बास पुगेका थिए। उनी दिउँसो करिब ३ बजे हेलिकप्टरमार्फत वनभोजस्थलमा अवतरण गरेका थिए। उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको पनि सहभागिता रहेको थियो।

मुख्यमन्त्री आउने खबर पाएपछि वनभोजस्थलमा करिब दुई दर्जन सुरक्षाकर्मी परिचालन गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। हेलिकप्टर अवतरणका क्रममा पिकनिकमा सहभागी स्थानीय बासिन्दाहरू उत्साहित देखिएका थिए भने हेलिकप्टर नजिकबाट हेर्न तँछाडमछाडसमेत भएको थियो। धेरैका लागि मुख्यमन्त्रीको आगमन रमिताजस्तै बनेको प्रत्यक्षदर्शीको भनाइ छ।

तर, अर्कोतर्फ मधेशका विभिन्न जिल्लामा शीतलहरका कारण गरिब, वृद्ध र बालबालिका बढी प्रभावित भइरहेका बेला यस्तो विलासी यात्रा र कार्यक्रममा सहभागी हुनु उपयुक्त नभएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा मुख्यमन्त्री बानियाँको आलोचना भइरहेको छ। आलोचकहरूले जनताको पीडा र प्राथमिकतालाई बेवास्ता गर्दै सत्ता र सुविधाको दुरुपयोग गरिएको आरोप लगाएका छन्।

यस विषयमा मुख्यमन्त्री बानियाँको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। तर, चिसोले जनजीवन प्रभावित भएको संवेदनशील समयमा नेताहरूको आचरण र प्राथमिकता कस्तो हुनुपर्छ भन्ने बहस भने यस घटनाले फेरि सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्