डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारद्वारा समिति गठन
काठमाडौँ, पुस १८ — विभिन्न माग राख्दै आमरण अनसनरत डा. निकोलस भुसालसँग संवाद गर्न सरकारले वार्ता समिति गठन गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा गठन गरिएको समितिको नेतृत्व प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले गर्नुभएको छ।
समितिमा जनसम्पर्क सल्लाहकार गोविन्द तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरीराज पौडेल सदस्य रहनुभएको छ। सरकार र अनसनरत पक्षबीच वार्ता गरी समस्याको समाधान खोज्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ।
डा. भुसालले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमाथि भएको दमनमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै पुस ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गर्नुभएको थियो। लामो समयदेखि अनसनमा रहँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि हाल अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
सरकारले संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै वार्ता प्रक्रिया अघि बढाएको भए पनि अनसनरत पक्षका माग सम्बोधन कसरी गरिन्छ भन्ने विषयमा सबैको चासो बढेको छ। आगामी दिनमा वार्ता समितिको पहलले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

