फागुनमा रिक्त हुने राष्ट्रिय सभा सदस्यका लागि माघ ११ मा निर्वाचन, बागमतीमा तयारी तीव्र



मकवानपुर, पुस १८ । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। नेपालको संविधानको धारा ८६ को उपधारा (३) अनुसार रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ। तीमध्ये एक जना सदस्य नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् भने बाँकी १८ जनाका लागि निर्वाचन हुनेछ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट महिला समूहबाट एक जना र अन्य समूहबाट एक गरी दुई जना सदस्य चयन गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको छ। निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न गर्न आवश्यक प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो।

आगामी फागुनमा पदावधि सकिन लागेका बागमती प्रदेशका दुवै राष्ट्रिय सभा सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन्। साविक नेकपा माओवादी केन्द्रकी गङ्गाकुमारी बेलबासे र नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुषालको कार्यकाल सकिन लागेको हो।
प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षको मतभारका आधारमा बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसपछि नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) सम्मिलित नेकपा र नेकपा एमाले रहेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३४८ जनाको निर्वाचन मण्डल रहने व्यवस्था छ। तर निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता सूचीअनुसार स्थानीय तहका २३७ जना मात्र सूचीकृत भएकाले कुल ३४७ जनाले मतदान गर्न पाउनेछन्।
नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले मतदानबाट वञ्चित हुनेछन्। बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुन्।

मतभारका हिसाबले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहनेछ। यसअनुसार बागमती प्रदेशमा कुल मतभार १० हजार ३३३ कायम हुनेछ। कांग्रेसका प्रदेशसभा सदस्य ३७ र स्थानीय तहका १०७ जना गरी कुल मतभार ३ हजार ९९४ रहनेछ, जुन सबैभन्दा बढी हो।

यसपछि नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) सम्मिलित नेकपाको २ हजार ७३८ मतभार रहेको छ भने एमाले २ हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ। १३ जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा एक जना मात्र प्रतिनिधि रहेकाले ७०८ मतभार छ। यस्तै नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रतर्फ १९ मतभार रहेको छ। राष्ट्रिय सभा सदस्य पदका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ। निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा दुई वटा मतदान केन्द्र स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्