तराईमा घना हुस्सु, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ,पुस १८। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराई भू–भागका अधिकांश स्थानमा शुक्रबार दिउँसो घना हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै पहाडी र हिमाली भू–भागमा आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले तराईका अधिकांश क्षेत्र हुस्सुले ढाकिएका छन् । आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा राति पनि हुस्सु कायमै रहने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । विशेषगरी बिहान र बेलुका सवारीसाधन चलाउँदा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले मौसमको अवस्था समय–समयमा परिवर्तन हुन सक्ने भएकाले सर्वसाधारणलाई नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

