जुनकिरी घट्दा शङ्खेकिराको प्रकोप, किसान समस्यामा
काठमाडौँ, पुस १८ । नेपालमा जुनकिरीसहित विभिन्न उपयोगी किराको सङ्ख्या तीव्र रूपमा घट्दै जाँदा किसान प्रत्यक्ष असरमा परेका छन् । विज्ञहरूका अनुसार पछिल्लो एक दशकमा नेपालमा करिब २५ प्रतिशत किरा हराइसकेका छन् । जुनकिरीका लार्भाले शङ्खेकिराका हजारौँ लार्भा खाएर बाली जोगाउने काम गर्ने भए पनि जुनकिरीको सङ्ख्या घटेपछि धेरै जिल्लामा शङ्खेकिराको प्रकोप बढेको छ ।
अनावश्यक कृत्रिम प्रकाश, कीटनाशक विषादीको अत्यधिक प्रयोग, सिमसार तथा प्राकृतिक बासस्थानको नाश र जलवायु परिवर्तन किरा घट्नुका मुख्य कारण मानिएका छन् । यसले कृषि उत्पादन, परागसेचन र सम्पूर्ण पर्यावरणीय चक्रमा असर पारिरहेको विज्ञहरूको भनाइ छ ।
किरा घट्दै जानु भनेको उत्पादन घट्नु र जैविक सन्तुलन बिग्रिनु भएकाले जैविक खेती प्रवर्द्धन, विषादीको न्यून प्रयोग र प्राकृतिक आवास संरक्षणमा तत्काल ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

