पोखरामा चार दिन पाँच घण्टा बिजुली कटौती, तार भूमिगत गर्ने काम तीव्र
कास्की, पुस १८ । पोखरामा आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रीड महाशाखाको कुँडहर सबस्टेशनमा ‘बसबार’ स्तरोन्नति तथा मर्मत कार्य सुरु भएकाले बिहान ६ बजेदेखि ११ बजेसम्म बिजुली काटिने पोखरा वितरण केन्द्रले जनाएको छ।पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मतका कारण सो ग्रीडबाट आपूर्ति हुने सबै फिडर बन्द रहनेछन्। विजयपुरदेखि हरिचोकसम्मका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ। तोकिएको समयभन्दा अघि मर्मत कार्य सम्पन्न भएमा बिजुली छिटो सुचारु हुन सक्ने जनाइएको छ।
यसैबीच पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने अभियानलाई तीव्र बनाएको छ। महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल गर्दै विद्युत् प्राधिकरणसँग समन्वय गरी अव्यवस्थित रूपमा झुन्डिएका तार हटाउन आग्रह गरेको छ। नगरप्रमुख धनराज आचार्यले एक महिनाभित्र तार नहटाए महानगरपालिकाले आफैँ हटाउने चेतावनी दिनुभएको छ।
विद्युत् प्राधिकरणले पोखराको करिब २३ किलोमिटर क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गर्ने कार्य गरिरहेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि लेकसाइड, पृथ्वीचोक हुँदै प्रमुख सहरी तथा पर्यटकीय क्षेत्रमा यो परियोजना सञ्चालनमा रहेको छ। हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।
तार भूमिगत भएपछि सहरी सौन्दर्य बढ्नुका साथै अव्यवस्थित पोल र तारबाट पोखराले मुक्ति पाउने अपेक्षा गरिएको छ।

