विधानअनुसार अघि बढ्दा काँग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा



काठमाडौँ,पुस १८। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार अघि बढ्दा काँग्रेस विभाजित हुने कुनै आशंका नराख्न आग्रह गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र उठाइएका विभाजनसम्बन्धी आशंकाहरू निराधार रहेको दाबी गर्नुभयो।

महामन्त्री शर्माले काँग्रेस थप एकढिक्का, मजबुत र बलियो भएर अघि बढ्ने बताउँदै विधान नै पार्टीको मार्गदर्शक भएको स्पष्ट पार्नुभयो। “विधानअनुसार काम गर्दा पार्टी फुट्दैन, झनै एकताबद्ध हुन्छ। त्यसैले विभाजनको आशंका गर्नु आवश्यक छैन,” उहाँले भन्नुभयो।

उहाँले वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। सोही कारण नियमित महाधिवेशनको मिति तोकिएको भए पनि विभिन्न कारणले महाधिवेशन गर्न नसकिएको उहाँको भनाइ छ।

महामन्त्री शर्माले निर्वाचनअघि राष्ट्रिय संकल्प आवश्यक भएमा त्यसतर्फ जान सकिने र त्यो सम्भव नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने जानकारी दिनुभयो।

नियमित महाधिवेशनको कार्यक्रम अगाडि बढ्न नसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उल्लेख गर्दै उहाँले पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक अभ्यासमार्फत सुदृढ बनाइने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्