भारतबाट उद्धार गरिएका ७ नेपाली बालबालिका परिवारको जिम्मा
जनकपुरधाम, पुस १८ । मानव बेचबिखन तथा ओसार–पसारको जोखिमबीच भारतको बिहार राज्यका विभिन्न सहरबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ।
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआईएन इण्डिया, नेपाल प्रहरी र भारतीय सुरक्षा निकायको संयुक्त पहलमा ती बालबालिकाको उद्धार गरिएको हो। उद्धारपछि प्रदेश प्रहरी कार्यालय मधेशमा आयोजित कार्यक्रममा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार ती बालबालिका विभिन्न बहानामा भारत लगिएका, घरबाट भागेका वा अलपत्र अवस्थामा फेला परेका थिए। केआईएन इण्डियाका प्रतिनिधि नविन जोशीले भिख माग्न लगाउने, बालश्रममा प्रयोग गर्ने र झुटो विवाह गराउने उद्देश्यले भारत पुर्याइएका बालबालिकालाई स्थानीय प्रहरी, नेपाली दूतावास तथा संघसंस्थाको सहयोगमा उद्धार गरिएको जानकारी दिनुभयो।
मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले उद्धारपछि बालबालिकाको परिवारमा पुनःस्थापना गरिए पनि उनीहरूको पालनपोषण, शिक्षा र संरक्षण सुनिश्चित गर्न राज्य, समाज र परिवारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसैबीच, पछिल्ला वर्षहरूमा मधेश प्रदेशबाट महिला तथा बालिका हराउने घटना बढ्दो रहेको प्रहरी तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म १ हजार ३१० जना हराएकामध्ये १ हजार १९३ जना महिला तथा बालिका रहेका छन्, जसले मानव बेचबिखनको जोखिम अझै गम्भीर रहेको संकेत गर्छ।
सीमा क्षेत्रमा प्रभावकारी निगरानी, सरोकारवाला निकायबीच सशक्त समन्वय र समुदायस्तरको सचेतना अभिवृद्धि नगरेसम्म यस्तो समस्या नियन्त्रणमा आउन कठिन देखिएको छ।

