फागुन २१ को निर्वाचन सरकारको मुख्य प्राथमिकता : प्रवक्ता खरेल



भरतपुर, पुस १८ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचन सरकारको प्रमुख प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएको छ। शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। उहाँले नागरिक सरकारको मुख्य लक्ष्य नै निर्वाचन भएको उल्लेख गर्दै त्यसका लागि सरकार पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

“म नागरिक सरकारको प्रवक्ता हुँ। म अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन। चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा पनि कुनै निर्णय लिएको छैन,” मन्त्री खरेलले भन्नुभयो, “नागरिक सरकारको प्राथमिक जिम्मेवारी भनेको निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्नु हो। त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गर्नु नै मेरो वर्तमान दायित्व हो।”

उहाँले जेन–जी आन्दोलनपछि गठन भएको नागरिक सरकारको अर्जुन दृष्टि नै निर्वाचन रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रिया सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी, सुरक्षा व्यवस्था र विश्वासको वातावरण निर्माणमा प्राथमिकताका साथ काम गरिरहेको मन्त्री खरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्