समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिँदै



काठमाडौँ,पुस १८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ५८ वटा निर्वाचन चिह्नसहित मतपत्र छापिने भएको छ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। तीमध्ये ६४ वटा दलले मात्रै बन्दसूची पेश गरेका छन्।

बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गर्ने भएका छन् भने बाँकी १० वटा दलले चार वटा साझा निर्वाचन चिह्न प्रयोग गरी विभिन्न क्लस्टरमार्फत प्रतिस्पर्धा गर्ने गरी सूची बुझाएका छन्।

यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छापिने भएकाले सबै दलका चुनाव चिह्न समेटिन्थ्यो। तर यसपटक भने बन्दसूची पेश गरेका दलका चिह्न मात्रै समेटेर मतपत्र छापिने आयोगले जनाएको छ।हाल बन्दसूचीको रुजु प्रक्रिया जारी रहेकाले कुनै दलको सूची अस्वीकृत भएमा चुनाव चिह्नको संख्या घट्न सक्ने प्रवक्ता भट्टराईले बताउनुभयो।

उहाँका अनुसार क्लस्टर नमिलेको अवस्था वा उम्मेदवारले नाम फिर्ता लिन चाहेमा मात्रै सूची संशोधन गर्न मिल्नेछ। अन्तिम सूची प्रकाशित भएपछि भने कुनै परिवर्तन गर्न नमिल्ने आयोगको स्पष्टोक्ति छ।यसैबीच, निर्वाचन प्रक्रियाको अनुगमनका लागि ४० वटा पर्यवेक्षण संस्थालाई अनुमति दिइएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्