पञ्चकन्यामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलकुदमार्फत युवा सशक्तीकरणमा जोड
नुवाकोट,पुस १९। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा पञ्चकन्या गाउँपालिकाको आयोजनामा पञ्चकन्या गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ। यही पुस १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह पञ्चकन्या गाउँपालिका–३ मा भव्य रूपमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रम पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक रामबाबु पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो भने उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेलाडी, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले खेलकुदले विद्यार्थी र युवामा अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रका प्रतिभा पहिचानमा योगदान पुर्याउँदै आएको उल्लेख गरे।
प्रतियोगिताको पहिलो दिन विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन्। गाउँपालिकाले प्रतियोगितामार्फत विद्यालयस्तरीय खेलाडीहरूलाई प्रोत्साहन गर्दै स्वस्थ, सक्षम र अनुशासित युवा पुस्ता निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

