बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई



बरहथवा (सर्लाही),पुस १९– माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ ।

पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती बगरमा तरुल खेती हुँदै आएको छ । सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो । यहाँ लगभग ५०० हेक्टर क्षेत्रमा वर्षेनी तरुल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताउनुभयो ।

यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालिमाटी तरकारी बजार हुँदै देशका अन्य ठूला सहरसम्म पुग्ने गरेको छ । तरुलले राम्रो बजार पाएको समयमा प्रशस्त आम्दानी लिन सकिने स्थानीय किसानसमेत रहनु भएका सङ्कलन कर्ता रामसुन्दर महतोले बताउनुभयो । उहाँका अनुसार गत वर्ष राम्रो मूल्य पाउँदा तरुलबाट प्रसस्त आम्दानी भएको थियो ।

गत वर्ष पुसको अन्तिम साता १०० देखि १२० रुपैयाँ किलोसम्ममा तरुल बिक्री भएको उहाँले बताउनुभयो । यस वर्ष पनि राम्रो आम्दानी हुने उहाँको अपेक्षा छ । कृषि उपजको मूल्यस्थिर नहुने भएकाले बजार जुवाको खाल बन्ने गरेको उहाँ सुनाउनु हुन्छ । महतोले अहिले यामको सुरुआत भएकोले प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्ममा तरुल बिक्री गरिरहेको बताउनुभयो ।

यस वर्ष अन्य पाँच÷छ जना साथी मिलेर १५० बिघाको तरुल ठेक्का लिएको उहाँले सुनाउनुभयो । यहाँ विशेष गरी पताले र सेतो तरुल उत्पादन गर्ने गरिएको छ । वैशाखमा मकैसँगै लगाएको तरुल मङ्सिरदेखि फागुनसम्म खन्ने गरिन्छ । माघे सङ्क्रान्तिमा अत्यावश्यक फलारको रूपमा प्रयोग हुने तरुलको अन्य समयमा तरकारीको रूपमा ठुलो माग छ ।

बागमती नगरपालिका–५, राजघाटका तरुल किसान हेमबहादुर पुलामीका अनुसार एक कठ्ठा तरुल खेतीको लागि १० देखि १३ हजारसम्म खर्च लाग्छ । मौसम मिलेर राम्रो उत्पादन हुँदा सामान्यतया कठ्ठामा १२ देखि १८ क्विन्टलसम्म तरुल फल्छ । यसरी फलेको तरुलले ७० देखि ८० रुपैयाँ किलो मूल्य पाउँदा पनि लाख बढी आम्दानी हुने उहाँको अनुमान छ ।

एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने तरुल किसान पुलामीको भनाइ छ । लागत कम हुने उत्पादन धेरै हुने र मूल्य राम्रो पाइने भएकोले आफूले वर्षेनी तरुल खेती गर्ने गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्