कांग्रेस महामन्त्रीको विशेष भेलामा नजाने शेखर कोइरालाको घोषणा
काठमाडौं,पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले महामन्त्रीहरूले आह्वान गरेको विशेष भेलामा सहभागी नहुने स्पष्ट गर्नुभएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको सन्दर्भमा पत्रकाहरूसँग प्रतिक्रिया दिँदै उहाँले केन्द्रीय समितिले बोलाए मात्र विशेष महाधिवेशन सम्भव हुने बताउनुभयो।
डा. कोइरालाले महामन्त्रीहरूले बोलाएको भेलामात्र हुने भएकाले त्यसले पार्टीमा विग्रह ल्याउने आशंका व्यक्त गर्दै आफू त्यसमा सहभागी नहुने निर्णय लिएको बताउनुभयो। उहाँले पार्टी विधानअनुसार कार्यविधि बिना विशेष महाधिवेशन हुन नसक्ने उल्लेख गर्दै केन्द्रीय समिति बैठकमा महामन्त्रीहरूले कार्यविधि सम्बन्धी प्रस्ताव किन नल्याएको भन्ने प्रश्न समेत उठाउनुभयो।
उहाँले महामन्त्रीहरूले चार वर्षसम्म क्रियाशील सदस्यताको काम नगरेर अरूलाई मात्र दोष लगाउने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। साथै, अहिले विशेष महाधिवेशनभन्दा पनि निर्वाचनपछि हुने नियमित महाधिवेशन नै उपयुक्त विकल्प भएको उहाँको भनाइ छ।
यसबीच, कांग्रेस महामन्त्री गगन थापाले पुसभित्र विशेष महाधिवेशन गर्ने तयारी रहेको र त्यसका लागि प्रतिनिधिहरूलाई राजधानी आउन आग्रह गरिसकेको बताइसक्नुभएको छ।

