रास्वपाका समानुपातिक उम्मेदवार सचिन ढकालले बन्द सूचीबाट नाम फिर्ता लिए



काठमाडौं,पुस १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा रहेका सचिनलाई रास्वपाले बालेन शाहको कोटाबाट खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा राखेको थियो।

ढकालले आज जारी गरेको वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्। वक्तव्यमा उनले उद्यमशीलताको प्रवर्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको उल्लेख गर्दै, त्यसका लागि नवयुवाहरू अघि बढिरहेको वर्तमान परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको सूचीमा समावेश गरिएकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।

तर, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको ढकालले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्