नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि बद्री मैनाली सिफारिस



नुवाकोट,पुस १९। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ समन्वय कमिटी बैठकले नुवाकोट जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीलाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

क्षेत्र नं. १ समन्वय कमिटीको बैठकले पार्टी संगठनलाई मजबुत बनाउँदै जिल्लामा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका मैनालीलाई एकल उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो।

बैठकमा सहभागी नेताहरूले मैनालीको संगठनात्मक क्षमता, जनसम्पर्क, पार्टीप्रतिको निष्ठा तथा नुवाकोटको समग्र विकासप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै सर्वसम्मत निर्णय गरिएको बताएका छन्।

समन्वय कमिटीले क्षेत्रीय तहबाट गरिएको यो सिफारिस पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वमा पठाइने जनाएको छ। पार्टी विधान र आन्तरिक प्रक्रियाअनुसार अन्तिम निर्णय केन्द्रीय तहबाट हुने भए पनि क्षेत्रीय स्तरको सर्वसम्मत सिफारिसलाई महत्वपूर्ण रूपमा लिइने एमाले नेताहरूले बताएका छन्।

नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको छ भने नुवाकोट–१ मा संगठन थप सुदृढ बनाउँदै चुनावी तयारी अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्