तादी गाउँपालिकाका दुई विद्यालयका २६० विद्यार्थीलाई न्यानो कपडा वितरण



नुवाकोट,पुस १९। शिक्षा समाज सुधारको मेरुदण्ड भएको उल्लेख गर्दै जिल्लाको तादी गाउँपालिका–१ काल्चे स्थित भौगोलिक रूपमा विकट क्षेत्रका मंगलेश्वरी आधारभूत विद्यालय र कल्पेश्वरी आधारभूत विद्यालयका २६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

जाडो मौसममा विद्यार्थीलाई केही राहत मिलोस् भन्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तामाङको आग्रह अनुसार पूर्व सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि तामाङले विद्यार्थीको शिक्षामा सहयोग पुग्ने यस्ता सामाजिक कार्य निरन्तर आवश्यक रहेको बताउनुभयो।

उक्त कार्यक्रम किरण कुमार रिजाल तादी–६ नुवाकोट निवासी, साविक नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य तथा सार्वजनिक यातायात केन्द्रीय महासंघका केन्द्रीय सह–अध्यक्षको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

यसअघि पनि रिजालको सहयोगमा विज्ञान माध्यमिक विद्यालय, जागृत माध्यमिक विद्यालय, अम्मर ज्योति माध्यमिक विद्यालय, रालुका माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय लगायतका विभिन्न विद्यालयमा कम्प्युटर, स्टेशनरी सामग्री तथा न्यानो कपडा वितरण गरिएको थियो।

स्थानीयवासी, विद्यालय प्रशासन र अभिभावकहरूले यस्ता सहयोगी गतिविधिले दुर्गम क्षेत्रका विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्