अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- ‘अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु’
काठमाडौँ,पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर अत्यधिक चिसो बढ्दै गएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाजस्ता समस्या देखिने बिरामीको सङ्ख्या बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।
उहाँले जाडोयाममा शीतलहर, हुस्सु, कुहिरो र हिमपातका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउँदै समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ बाट परामर्श लिन आग्रह गर्नुभयो।
मन्त्रालयका अनुसार बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू जाडोयाममा बढी जोखिममा रहने गर्दछन्। साथै, पछिल्ला वर्षहरूमा बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घरोग र मृत्युदरसमेत बढाउने प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।
चिसोका कारण हुने स्वास्थ्य समस्याबाट बच्न धुवाँधुलोबाट जोगिन, न्यानो लुगा लगाउन, पोषणयुक्त सन्तुलित खाना खान, भिटामिन सीयुक्त फलफूल तथा सागसब्जी सेवन गर्न, सरसफाइमा ध्यान दिन र प्रशस्त झोल पदार्थ सेवन गर्न मन्त्रालयले अनुरोध गरेको छ।

