शिवपुरी गाउँपालिकाद्वारा धानबाली क्षति भएका किसानलाई प्रति रोपनी २०० क्षतिपूर्ति दिने निर्णय
नुवाकोट,पुस १९। शिवपुरी गाउँपालिकाले निरन्तर वर्षाका कारण धानबाली क्षति भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
गत कार्तिक ११ गतेदेखि करिब एक हप्तासम्म परेको निरन्तर वर्षाका कारण शिवपुरी गाउँपालिका क्षेत्रभित्र काटिएको धानबाली पूर्ण रूपमा नष्ट भई किसानहरूको दैनिक जीवनयापनमा समस्या उत्पन्न भएपछि स्थानीय सरकारले राहतस्वरूप क्षतिपूर्ति दिने निर्णय गरेको हो।
पौष १५ गते बसेको शिवपुरी गाउँपालिकाको कार्यपालिका बैठकले धान उत्पादक किसानहरूलाई विपद् व्यवस्थापन कोषमार्फत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
निर्णयअनुसार निवेदन दिएका किसानलाई प्रति व्यक्ति ३ हजार रुपैयाँ तथा धान क्षति भएको प्रति रोपनी २ सय रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ। यो सहयोग पूर्ण क्षतिपूर्ति नभए पनि विपद्को समयमा किसानलाई केही राहत दिनका लागि गरिएको प्रयास भएको गाउँपालिकाले स्पष्ट पारेको छ।
गाउँपालिकाले आन्तरिक आम्दानी सीमित रहे पनि किसानहरूको समस्या र पीडालाई मध्यनजर गर्दै स्थानीय सरकारको तर्फबाट सम्भव भएसम्म सहयोग गर्न खोजिएको जनाएको छ।


