तादी गाउँपालिका–१ काल्चेमा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढीले लिए सेवा
नुवाकोट,पुस १९ । तादी गाउँपालिका वडा नम्बर १ काल्चेस्थित स्वास्थ्य भवनमा नेपाली कम्युनिष्ट पार्टी तादी गाउँ समितिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शनिबार आयोजित उक्त शिविरमा नाक, कान, घाँटी तथा महिला स्वास्थ्यसम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरबाट १५० जनाभन्दा बढी सर्वसाधारण जनसमुदायले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्।
ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीले नजिकै विशेषज्ञसहित सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।
शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा आयोजक टिमप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ।

