समानुपातिक उम्मेदवारीको मनोनयन रुजु जारी
काठमाडौं,पुस १९ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन माथि रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।
त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ ।
आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची तत्पश्चात परिवर्तन हुने छैन ।

