पाथीभरा क्षेत्रमा साँझदेखि हिमपात, चिसो बढ्यो
ताप्लेजुङ,पुस १९। ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात सुरु भएको छ, जससँगै क्षेत्रमा चिसो उल्लेख्य रूपमा बढेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान एकपटक छार्के परेको भए पनि साँझपखदेखि हल्का हिमपात हुन थालेको हो। “साँझदेखि हल्का हिउँ पर्न थालेपछि पाथीभरा क्षेत्रमा चिसो बढेको छ,” उहाँले बताउनुभयो।
यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो। केही दिनअघिसम्म मौसम खुलेको भए पनि पछिल्ला दिनमा मौसम धुम्मिएसँगै जिल्लाभर चिसो बढ्दै गएको छ।
आज दिउँसो सदरमुकाम फुङ्लिङसहित जिल्लाका केही स्थानमा छिटफुट वर्षासमेत भएको थियो। मौसम चिसिँदै गएकाले पाथीभरा दर्शनमा जाने तीर्थयात्री तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

