प्रतिनिधिसभा निर्वाचन: झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
झापा,पुस २० । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।
पार्टीको शनिबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उहाँ यही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित हुनुभएको थियो । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उहाँ यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हिरा थापा र भोजकुमारी नेपालको नाम हिजो सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
झापामा पाँच वटा निर्वाचन क्षेत्र छन् । झापा निर्वाचन क्षेत्र नं १, २ र ३ को उम्मेदवारको नाम आज आइतबारसम्ममा सिफारिस भइसक्ने उहाँले बताउनुभयो ।
हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले ‘सर्कुलर’ गरेको जनाइएको छ ।

