प्रा.डा. शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक



काठमाडौं,पुस २० । दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ शनिबार सार्वजनिक भएका छन् ।

वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्रा.डा.जीवेन्द्रदेव गिरी र प्रा. नीलमणि ढुङ्गाना, प्रा.केदार न्यौपाने र डा.दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा.पोख्रेलको निधनको ११ वर्षपछि उहाँका छोरा पूर्व प्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गर्नुभएको हो ।  

डा.पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा.नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताउनुभयो ।

वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताउनुभयो । प्रा.डा. उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्रा.डा.पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताउनुभयो । साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उहाँको भनाइ छ ।

वक्ताहरू प्राडा गिरी, प्रा.न्यौपानेले यो पुस्तकले प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण दस्ताबेज रहेको उल्लेख गर्नुभयो । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्डसम्बन्धी दुई वटा सम्मेलन भएका थिए । प्राडा पोख्रेलको यो पुस्तकले यसबारे झन् गहिराइमा पुर्‍याउने वक्ताहरूको भनाइ छ ।

पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सह आयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा.पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताउनुभयो । उहाँले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्