‘जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढेका छौँ’



पोखरा,पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनुभएको छ । 

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सदस्य भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको दाबी गर्नुभयो ।

संसदमा सीमित सङ्ख्यामा रहँदाको अनुभवले रास्वपालाई अब निर्णायक शक्ति बन्नैपर्ने निष्कर्षमा पुर्याएको उहाँले उल्लेख गर्नुभयो । आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रतिनिधिसभामा १ सय ५१ सिट जितेर मुलुकलाई नयाँ दिशामा अघि बढाउने दाबी उहाँले गर्नुभयो । 

कार्यक्रममा उपसभापति वाग्लेले थारु समुदाय, दलित समुदायसहित विभिन्न दल र व्यक्तित्वहरू छिट्टै रास्वपाको महाअभियानमा जोडिन लागेको जानकारी दिनुभयो । सोही अवसरमा गण्डकी प्रदेशबाट पूर्व मन्त्री कुमार खड्का, पर्यटन व्यवसायी पुष्प अधिकारी र महिला नेतृ मिलन थापाले पार्टी प्रवेश गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्