पाटेबाघले मान्छे र गाई मार्‍यो



बाँके,पुस २० । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको छ। बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।

बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय कुसुमका प्रमुख तथा सहायक संरक्षण अधिकृत कुन्नारायण चौधरीका अनुसार भण्डारी गाई चराउन जंगल गएको बेला बाघले आक्रमण गरेको हो। मृतकको शव जंगलभित्र फेला पारेर घटनास्थलमै मुचुल्का तयार गरिएको उनले जानकारी दिए।

उनका अनुसार मृतकको शव नजिकै करिब ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले मारेको अवस्थामा फेला परेको छ। बाघले भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको र शरीरका अन्य भागमा खासै चोट नदेखिएको चौधरीले बताए।

“मृतकको शव फेला पारेर कानुनी प्रक्रिया अगाडि बढाएका छौं,” उनले भने। शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएको छ।प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो करिब १:३० बजेतिर भण्डारीसँगै अन्य तीन जना पनि गाई चराउन जंगल गएका थिए। सोही क्रममा बाघले एक्कासी आक्रमण गरेको बताइएको छ। सँगै रहेका स्थानीयबासिन्दा पिमलाल डाँगीका अनुसार हो–हल्ला गर्दा पनि बाघले भण्डारीलाई घिसार्दै लगेको थियो।

“हामी चिच्याउँदा उल्टै बाघले हामीलाई पनि झम्टिन खोज्यो, ज्यान जोगाउन भाग्यौं,” डाँगीले बताए। घटनालगत्तै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासिन्दाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल पूर्व–पश्चिम राजमार्गको सौरी खोलाबाट उत्तरतर्फ पहाडी क्षेत्रमा पर्छ।यसअघि पनि केही वर्षअघि सोही गाउँपालिका अन्तर्गत गाभर क्षेत्रमा बाघले मान्छे मारेको घटना भएको थियो। पुनः घटना दोहोरिएपछि स्थानीयबासी त्रसित बनेका छन्। यस क्षेत्रका अधिकांश बासिन्दा कृषि तथा पशुपालनमा निर्भर रहेकाले जंगलमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्