त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता



चितवन,पुस २० । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिका निवासी २२ वर्षीय सौरभ थारु रहेका छन्। उनीहरू सुपर त्रिशूली हाइड्रोपावर परियोजनामा कार्यरत कामदार हुन्।

शनिबार नदीमा नुहाउने क्रममा अचानक डुबेर उनीहरू बेपत्ता भएको जनाइएको छ। घटनापछि उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनघाटबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

बेपत्ता दुवै जना त्रिशूली हाइड्रोपावरमा काम गर्न आएका सिइ कन्स्ट्रक्सन प्रालिका कामदार रहेको खुलेको छ। शनिबार साँझसम्म गरिएको खोजी कार्यबाट उनीहरू फेला नपरेको र आइतबार पनि खोजी कार्य निरन्तर जारी रहने सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटले जनाएको छ।

त्रिशूली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्