रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ जना घाइते
काठमाडौं,पुस २०। रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरी निवासी १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। मृतक दुवै जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।
प्रहरीका अनुसार उनीहरू राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किंदै गरेका बेला दुर्घटनामा परेका हुन्। सुनछहरी गाउँपालिका वडा नम्बर–१ गाम खोलाको सेरमबाट वडा नम्बर–४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका दुई विद्यार्थीलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा परी थप नौ जना विद्यार्थी घाइते भएका छन्। प्रहरीका अनुसार घाइते सबैलाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल रिफर गरिएको छ। घाइतेहरूको अवस्था बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी, अभिभावक तथा विद्यालय परिवार शोकमा डुबेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

