नुवाकोट क्षेत्र नं. २ बाट केशव राज पाण्डे सर्वसम्मत सिफारिस



नुवाकोट, पुस २० । संघीय निर्वाचन क्षेत्र नम्बर–२, नुवाकोटबाट नेकपा एमालेका तर्फबाट बागमती प्रदेशका पूर्व मन्त्री तथा पार्टीका नेता केशव राज पाण्डे आगामी संघीय निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस हुनु भएको छ।

आइतबार सम्पन्न पार्टीको क्षेत्रीय तहको बैठक तथा छलफलपछि पाण्डेलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरिएको हो। पार्टीभित्र अनुभवी, संगठन निर्माणमा सक्रिय तथा जनसमर्थन मजबुत नेताका रूपमा परिचित पाण्डेको नाममा सर्वसम्मति बनेको नेताहरूले बताएका छन्।

पूर्व मन्त्री पाण्डेले बागमती प्रदेश सरकारमा रहँदा विकास, पूर्वाधार तथा जनमुखी कार्यक्रमहरू कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याएको पार्टीको भनाइ छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म राम्रो पकड बनाएका पाण्डेले नुवाकोट जिल्लाको समग्र विकासका लागि निरन्तर भूमिका खेल्दै आएको नेताहरूको धारणा छ।

पार्टी कार्यकर्ताहरूले उहाँको नेतृत्वमा निर्वाचन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै निर्वाचन ‘युद्ध’मा पहिलो स्थान हासिल गर्नेमा पूर्ण भरोसा व्यक्त गरेका छन्। सिफारिसपछि जिल्लाभरका पार्टी कार्यकर्ता उत्साहित देखिएका छन्।

यसैबीच, क्षेत्रीय भेलाले समर आलेमगरको संयोजकत्वमा १ हजार ५१ सदस्यीय निर्वाचन तयारी समिति समेत गठन गरेको छ। समितिले आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण तथा चुनावी गतिविधि सञ्चालन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्