शीतलहरको दोस्रो प्रकोप सुरु, मधेशको जनजीवन फेरि प्रभावित
बर्दीबास, पुस २० । मधेश प्रदेशमा दुई दिनको मौसमी सुधारपछि पुनः शीतलहर सुरु भएको छ। पुस ४ गतेदेखि प्रकोपका रूपमा देखिएको शीतलहर केही दिन कमजोर भएसँगै जनजीवन सामान्य बन्दै गएको थियो। तर शनिबार अपरान्हदेखि पश्चिमा स्याँठ र बाक्लो कुहिरोसँगै शीतलहरको दोस्रो प्रकोप सुरु भएपछि जनजीवन फेरि प्रभावित भएको छ।
मौसम खुलेर तापक्रम २५ डिग्रीसम्म पुगेका बेला किसानहरू उखु काट्न व्यस्त थिए भने गृहिणीहरू बिस्कुन सुकाउने र कपडा धुने काममा लागेका थिए। बन्द रहेका विद्यालयहरू पनि खुल्न थालेका थिए। तर शीतलहर पुनः बढेसँगै दैनिक जनजीवन पुनः कष्टकर बनेको छ। सडक पेटी र चोक–चोकमा आगो ताप्नेको भीड बढेको छ भने हाटबजारको चहलपहल घट्दै गएको छ।
शीतलहरको दोस्रो प्रकोपसँगै न्यूनतम तापक्रम ९ डिग्रीसम्म झरेको छ। यसले जनस्वास्थ्य, कृषि र दैनिकीमा थप चुनौती सिर्जना गरेको छ। जलेश्वरस्थित प्रादेशिक अस्पतालका डा. विकास शाहका अनुसार चिसोका कारण रक्तचाप, कठ्याङ्ग्रिने, स्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, न्यूमोनिया, भाइरल सङ्क्रमण तथा पछिल्लो समय कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। हाल दैनिक ७० जनाभन्दा बढी चिसोबाट पीडित बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन्।
यस्तै, बर्दीबास अस्पतालमा पनि चिसोका कारण रुघाखोकी, न्यूमोनिया, दम, स्वासप्रश्वास तथा हाडजोर्नीसम्बन्धी समस्या लिएर दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालका डा. रितेश घिमिरेले जानकारी दिनुभयो। शीतलहर बढेसँगै मुटुसम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या पनि दैनिक पाँचदेखि सात जनासम्म पुग्ने गरेको उहाँले बताउनुभयो।
शीतलहरको असर कृषिमा पनि देखिन थालेको छ। कृषि ज्ञान केन्द्रका अनुसार चिसोका कारण आलु बालीमा ढुसीजन्य डढुवा रोग देखिन थालेको छ। समयमै नियन्त्रण नगरे आलु, गोलभेंडा र खोर्सानीजस्ता तरकारी बालीमा ठुलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ। साथै, लहरे तरकारीको बेर्ना राख्ने समयमा आवश्यक तापक्रम नपाउँदा फर्सी, लौका, घिरौला, काँक्रा, बोडी, तीते करैला र भिण्डीको बिउ टुसाउन नसकेको किसानहरूले बताएका छन्।
जाडोबाट अत्यधिक प्रभावित समुदाय आवश्यक सहयोगको प्रतीक्षामा छन्। सम्बद्ध निकायले भने चिसोबाट बच्न न्यानो लुगा लगाउन, आगो बाल्दा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई सुझाव दिएका छन्।

