नुवाकोटमा बाल सुधार गृह सञ्चालनबारे मन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण
नुवाकोट, पुस २० । नुवाकोटमा बाल सुधार गृह सञ्चालनका सम्बन्धमा स्थलगत निरीक्षणका लागि आउनुभएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई स्वागत गरिएको छ। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले जिल्ला स्थित विभिन्न संरचना तथा सेवा अवस्थाबारे जानकारी लिनुभएको छ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले नुवाकोटस्थित केन्द्रीय कारागार तथा तत्कालीन जिल्ला कारागारको समेत भ्रमण गर्नुभएको छ। उक्त भ्रमणका क्रममा आवश्यक सहजीकरण विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको थियो।
भ्रमणमा जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा बाल सुधार गृह सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन, सुरक्षा र सेवासम्बन्धी विषयमा छलफल गरिएको जनाइएको छ।
मन्त्री श्रेष्ठले बालबालिकाको अधिकार, संरक्षण र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै बाल सुधार गृह सञ्चालनलाई प्रभावकारी बनाइने बताउनुभयो। स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक व्यवस्था मिलाइने पनि उहाँको भनाइ छ।

