… र अनि दुबै मुस्कुराए



नुवाकोट,पुस २० । राजनीति प्रायः प्रतिस्पर्धा, असहमति र रणनीतिक गणनाको कथाले भरिएको हुन्छ। तर यिनै कथाबीच कहिलेकाहीँ मानवीय भाव, सहकार्य र भरोसाको एउटा सानो तर गहिरो अर्थ बोकेको क्षण पनि जन्मिन्छ। नुवाकोटमा नेकपा एमालेको पछिल्लो गतिविधिले यस्तै एउटा दृश्य प्रस्तुत गरेको छ—जहाँ दुई नेता, दुई क्षेत्र र एउटै उद्देश्यसँगै उभिएर मुस्कुराए।

नेकपा एमाले नुवाकोटले प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाउँदै क्षेत्रगत बैठकमार्फत उम्मेदवार सिफारिस गरेको छ। शनिबार सम्पन्न क्षेत्र नम्बर–१ को बैठकले बद्री मैनालीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस गर्‍यो भने आइतबार बसेको क्षेत्र नम्बर–२ को क्षेत्रीय परिषद् बैठकले केशव राज पाण्डेलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ।

तर राजनीतिक निर्णयभन्दा बढी अर्थपूर्ण दृश्य भने क्षेत्र नम्बर–२ को बैठक सकिनासाथ देखियो। सिफारिसको औपचारिकता पूरा भएपछि बद्री मैनाली र केशव राज पाण्डे एक–अर्कासँगै उभिए, क्यामेरातर्फ फर्किए र मुस्कुराए।विदुर पार्टी कार्यालयमा खिचिएको  त्यो मुस्कानयुक्त फोटो केवल तस्बिरका लागि मात्रै थिएन—त्यो नुवाकोट एमालेभित्रको स्पष्ट सन्देश थियो : एकता, समझदारी र साझा लक्ष्यको।

केशव राज पाण्डेको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। अमृत साइन्स क्याम्पसको स्ववियु सभापति हुँदै उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्षसम्म पुगे। उनी कोषाध्यक्ष रहँदा संगठनको नेतृत्व अहिलेका एमाले महासचिव शंकर पोखरेलले अध्यक्षका रूपमा गरिरहेका थिए। संगठन निर्माण र विद्यार्थी राजनीतिमा बितेको त्यो समयले पाण्डेलाई संघर्ष, अनुशासन र राजनीतिक धैर्य सिकाएको उनका निकटहरू बताउँछन्।

पाण्डे २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशसभाको सचेतक तथा मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्। बागमती प्रदेश सरकारमा रहँदा उनले विकास, पूर्वाधार र जनमुखी कार्यक्रमहरूमा सक्रिय भूमिका खेलेको एमालेको दाबी छ। पछिल्लो निर्वाचनमा भने उनी प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका थिए, जहाँ नेपाली कांग्रेस–माओवादी गठबन्धनका रामप्रसाद ढुंगानासँग पराजित भएका थिए। तर पराजयलाई अनुभवको पाठ बनाउँदै उनी संगठन र जनतासँग निरन्तर जोडिँदै अघि बढे। यही निरन्तरताले आज उनलाई संघीय संसदको दौडमा उभ्याएको नेताहरूको बुझाइ छ।

उता बद्री मैनाली पनि नुवाकोट एमालेभित्र संगठन निर्माण, अनुशासन र नेतृत्व क्षमताका कारण परिचित नाम हुन्। दुई फरक क्षेत्र, दुई फरक जिम्मेवारी तर एउटै दल र एउटै लक्ष्य—एमालेको जित। यही साझा उद्देश्यका कारण सिफारिसपछि खिचिएको तस्बिरमा कुनै प्रतिस्पर्धाको तनाव देखिएन, देखियो त केवल आत्मविश्वास र सहकार्यको संकेत।क्षेत्र नम्बर–२ मा एमालेसँगै अन्य पुराना दलहरूले पनि उम्मेदवार सिफारिसको गृहकार्य लगभग टुंग्याइसकेका छन्। नेपाली कांग्रेसबाट बहादुरसिंह लामा मुख्य उम्मेदवार बन्ने चर्चा छ भने ध्रुव अधिकारी र जगदीश्वर नरसिंह केसी पनि सिफारिस सूचीमा परेका छन्। अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने बताइएको छ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र र समाजवादी) एकीकरणपछि बनेको दलले पनि क्षेत्र नम्बर–२ का लागि उम्मेदवार सिफारिस गरिसकेको छ। प्रचण्ड अघिअघि लगाएर हितबहादुर तामाङसंगै बढाउने तयारी गरिएको बुझिएको छ । त्यस्तै उक्त दलबाट हिरानाथ खतिवडा, राजकुमार रेग्मी, गोविन्द नेपाली र राजेन्द्र प्रकाश लोहनी सिफारिस भएका छन्।

नुवाकोटको राजनीतिक वृत्तमा यो दृश्यलाई धेरैले सकारात्मक संकेतका रूपमा लिएका छन्। आगामी निर्वाचनको ‘युद्ध’ सुरु हुनुअघि देखिएको यो मुस्कान एमालेभित्रको एकताको प्रतीक बनेको छ।सायद यही कारण हो—र अनि दुबै मुस्कुराए।

प्रतिक्रिया दिनुहोस्