भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु
मकवानपुर,पुस २० । मकवानपुरको भीमफेदी गाउँपालिकामा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सुमो अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा सुमोमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र उद्धार तथा अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको भए पनि तीव्र मोड, सडकको अवस्था तथा गाडीको गति लगायतका पक्षलाई ध्यानमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि उक्त सडक खण्डमा केही समय सवारी आवागमन प्रभावित भएको थियो।घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

