मेयर बालेन्द्र शाह रास्वपाका वरिष्ठ नेतामा मनोनित



काठमाडौँ,पुस २१ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताका रूपमा मनोनित भएका छन्। रास्वपाको हिजो बसेको बैठकले शाहलाई आमन्त्रित सदस्यसहित पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टी स्रोतका अनुसार शाहलाई वरिष्ठ नेताको रूपमा अघि बढाउने निर्णय पार्टीको आन्तरिक छलफल र आगामी राजनीतिक रणनीतिका आधारमा गरिएको हो। यससँगै रास्वपाले स्थानीय तहदेखि संघीय राजनीतिसम्म प्रभावशाली नेतृत्वलाई एकीकृत गर्ने संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

यसअघि, करिब एक साताअघि बालेन्द्र शाह र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको चर्चा सार्वजनिक भएको थियो। सोही सहमतिलाई औपचारिक दिशातर्फ लैजान हिजोको बैठकले महत्त्वपूर्ण निर्णय गरेको बताइएको छ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहसहित उनका तर्फबाट २६ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्दै शपथ गराएको छ। पार्टीले नयाँ जिम्मेवारी पाएका नेताहरूलाई संगठन विस्तार, नीति निर्माण र आगामी निर्वाचनको तयारीमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरेको जनाएको छ।

राजनीतिमा फरक शैली र कडा अभिव्यक्तिका कारण चर्चामा रहने मेयर शाहको रास्वपामा औपचारिक प्रवेशसँगै मुलुकको राजनीतिक समीकरणमा नयाँ तरंग आउने आँकलन गरिएको छ। आगामी दिनमा शाहको भूमिकाले रास्वपाको राजनीतिक दिशा र रणनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषय चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्