रास्वपाले केन्द्रीय समितिमा ३३ नयाँ सदस्य थप्यो



काठमाडौं, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप ३३ जना सदस्य मनोनीत गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) र ऊर्जा क्षेत्रका चर्चित अभियन्ता कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’, तथा विवेकशील साझा पार्टीसँग भएको एकतापछि रास्वपाले संगठन विस्तार गर्दै नयाँ अनुहारहरूलाई केन्द्रीय समितिमा समेटेको हो।
आइतबार दिउँसो र साँझ बसेका पार्टीका छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट यी मनोनयन गरिएको हो। पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार दिउँसो बसेको बैठकले विवेकशील साझा पार्टी छाडेर रास्वपासँग एकतामा आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

त्यसपछि साँझ सवा ७ बजे काठमाडौंको घण्टीघरमा पुनः बसेको केन्द्रीय समिति बैठकले थप २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। यससँगै रास्वपाको केन्द्रीय समिति थप बलियो र विविध पृष्ठभूमिका व्यक्तिहरू समेटिएको पार्टीको दाबी छ।

बालेन टिमबाट मनोनीत केन्द्रीय सदस्यहरू
केन्द्रीय समितिमा मनोनीत हुनेहरूमध्ये बालेन शाह समूहबाट बालेन शाहसहित सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।

विवेकशील साझाबाट समाहित केन्द्रीय सदस्य
विवेकशील साझा पार्टीबाट रास्वपासँग एकीकरणपछि समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना केन्द्रीय समितिमा मनोनीत भएका छन्।

पार्टी नेतृत्वले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले संगठन सुदृढीकरण, नीति निर्माण र आगामी निर्वाचनको तयारीमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पछिल्लो मनोनयनसँगै रास्वपाले वैकल्पिक राजनीतिको एजेन्डालाई अझ सशक्त ढंगले अघि बढाउने संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्