भीमफेदीको सुमो दुर्घटना : चार मृतकको पहिचान खुल्यो, दुईको सनाखत बाँकी



मकवानपुर,पुस २१ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै पहिचान हुन सकेको छैन।

दुर्घटनामा परेका छ जनाकै हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार नाम, थर र ठेगाना नखुलेका दुई जना मृतकको सनाखत गर्ने प्रयास जारी छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा भारत बिहार राज्य पटनाका ४२ वर्षीय रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल तथा भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन्।

यस्तै, नाम र ठेगाना नखुलेका अन्दाजी ३६ र ४० वर्षीय दुई जना पुरुषलाई शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। तर चिकित्सकले आइतबार साँझ ७ः३५ बजे उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा सुमो चालक हेटौँडा–४ कर्रा चोकका अन्दाजी ४५ वर्षीय गणेश थापा, हेटौँडा–४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरी रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचार हेटौँडा अस्पतालमा गरेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत जुरिखेतमा आइतबार साँझ दुर्घटनामा परेको हो। उक्त सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा रहेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्