गार्सियाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित



म्याड्रिड,पुस २१ । स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिक प्रदर्शनसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि प्रभावशाली जित दर्ता गरेको छ।

आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले रियाल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गर्‍यो।
रियलको जितमा गोन्जालो गार्सियाले २०औँ, ५०औँ र ८२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। गार्सियाको उत्कृष्ट प्रदर्शनले खेलभर रियलको आक्रमणलाई धारिलो बनायो।

यस्तै, राउल असेन्सियोले ५६औँ मिनेटमा एक गोल थप्दा फ्रान गार्सियाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै रियलको फराकिलो जित सुनिश्चित गर्नुभयो।

पाहुना टोली रियाल बेटिसका चुचो हर्नान्डेजले ६६औँ मिनेटमा सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै १९ खेलबाट ४५ अङ्क जोडेको रियल म्याड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ४९ अङ्क छ।

पराजित रियाल बेटिस २८ अङ्कसहित छैटौँ स्थानमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्