अण्डाको मूल्य क्रमशः घट्यो, प्रतिक्रेट ९० रुपैयाँले कमी
काठमाडौं,पुस २१ । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गर्दै भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ।
सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य ३० वटा अण्डाको एक क्रेट रु ५६५ बाट घटेर रु ४७५ पुगेको छ। यस्तै, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट रु ५५० बाट घटेर रु ४६० मा झरेको छ। मूल्य घटेसँगै उपभोक्ता मूल्यसमेत घटाइ प्रतिगोटा रु २५ बाट रु २० कायम गरिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्महरूबाट लिइएको दररेटका आधारमा अण्डाको समर्थन मूल्य निर्धारण गरिएको हो। पछिल्लो समय बढ्दो जाडोका कारण उपत्यका तथा हिमाली भेगमा विद्यालय बन्द हुनु, जनजीवन तथा आर्थिक गतिविधि सुस्त हुनु, पर्यटक आगमन घट्नु र कुखुरा बिक्री नगरी अण्डा उत्पादन बढिरहनुजस्ता कारणले अण्डाको खपत घट्दा मूल्यमा गिरावट आएको हो।
अध्यक्ष पोखरेलले हाल उत्पादन बढी र खपत कम भएको अवस्था रहेको बताउँदै जाडो कम भई जनजीवन सहज बन्दै गएपछि पुनः अण्डाको माग बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ, जसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु ५७४ रुपैयाँ ६ पैसा हुन्छ। लागत मूल्यभन्दा तल मूल्य झरेपछि किसानलाई थप नोक्सान हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो। सङ्घले बजारको अवस्था हेरेर अण्डाको समर्थन मूल्य समय–समयमा घटबढ गर्ने गर्दै आएको जनाएको छ।

