पञ्चकन्या गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि नवसञ्जीवनी माविलाई



नुवाकोट,पुस २१। पञ्चकन्या गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि नवसञ्जीवनी माध्यमिक विद्यालयले हात पारेको छ।

यही पुस १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज औपचारिक रूपमा सम्पन्न भएको हो। प्रतियोगिताको समापन समारोह पञ्चकन्या गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक रामबाबु पराजुलीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा कालिका माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको थियो।

प्रतियोगितामा पञ्चकन्या गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। समग्रमा उत्कृष्ट प्रदर्शन गर्दै नवसञ्जीवनी माध्यमिक विद्यालयले १० स्वर्ण, ४ रजत र २ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो। यस्तै, इन्द्रायणी माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्‍यो भने पञ्चकन्या माध्यमिक विद्यालयले २ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।

विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई पञ्चकन्या गाउँपालिकाको तर्फबाट प्रमाणपत्र, मेडल, ट्रफी तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

समापन समारोहमा विजेता विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सहभागी सबै विद्यालय, खेलाडी, शिक्षक, निर्णायक, स्वयंसेवक तथा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई पञ्चकन्या गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्