आइसीसी टी–२० विश्वकप ट्रफी नेपालमा सार्वजनिक



काठमाडौं,पुस २१। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० विश्वकप ट्रफी नेपालमा सार्वजनिक गरिएको छ। ट्रफी तीन दिनसम्म विभिन्न स्थानमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ।आइसीसी टी–२० विश्वकप ट्रफी बसन्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तूपा परिसर तथा पोखरामा प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ। नेपालमा यसअघि सन् २०१८ मा अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) विश्वकपको ट्रफी ल्याइएको थियो।

विश्वकप ट्रफी सार्वजनिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको क्षण भएको बताउनुभयो। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अघि बढिरहेको सन्देश विश्वभर फैलिएको धारणा व्यक्त गर्नुभयो।

“नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ। क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार सुदृढ बन्दै गएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो।

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उहाँको भनाइ थियो। साथै, नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह तथा आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गर्नुभयो।

“नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन्,” भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिनुभयो।

आइसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलंकामा सुरु हुँदैछ। २० टोली सहभागी हुने प्रतियोगिता भारत र श्रीलंकाका ८ वटा मैदानमा २९ दिनसम्म सञ्चालन हुनेछ। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्