गर्भमा शिशुको लिङ्ग पहिचान गरे एक वर्षसम्म कैद सजाय
काठमाडौं ,पुस २२। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य कानुनविपरीत रहेको स्पष्ट गर्दै यस्तो कार्य गरे एक वर्षसम्म कैद सजाय हुने जनाएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै गर्भमै शिशुको लिङ्ग पहिचान गर्नु वा गराउनु गैरकानुनी रहेको स्पष्ट पारेको हो। मन्त्रालयका अनुसार गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै पनि परीक्षण, प्रविधि वा प्रक्रिया प्रयोग गर्न पाइँदैन।
सूचनामा उल्लेख गरिएअनुसार कसैले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। “गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै पनि परीक्षण, प्रविधि वा प्रक्रियाको प्रयोग गर्न पाइँदैन। यस्तो कार्य गरे वा गराएमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ,” सूचनामा भनिएको छ।
मन्त्रालयले छोरीको जन्म सुनिश्चित गर्न र लिङ्गका आधारमा हुने विभेदपूर्ण अभ्यास अन्त्य गर्न सबै नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। लिङ्गका आधारमा हुने भेदभावले सामाजिक असन्तुलन सिर्जना गर्ने भएकाले यस्ता अभ्यास रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
साथै, छोरी र छोराबीच समान व्यवहार गर्दै सुरक्षित मातृत्व र शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्न मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका अनुसार गर्भको शिशुको लिङ्ग पहिचान गर्नु चिकित्सकीय आचारसंहिताविपरीत मात्र होइन, कानुनद्वारा दण्डनीय अपराध पनि हो।
मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा (७) र (८) तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ अनुसार गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराधका रूपमा व्यवस्था गरिएको छ।

