देशभर यस वर्षकै चिसो, जुम्लामा माइनस ६.३ डिग्री तापक्रम रेकर्ड



काठमाडौं, पुस २२ । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। न्यूनतम तापक्रममा आएको गिरावटसँगै देशभर चिसो अत्यधिक महसुस गरिएको छ भने चिसोजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन्। यस अवस्थालाई ध्यानमा राख्दै सरकारले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ। आइतबार पनि जुम्लामा सोही तापक्रम मापन गरिएको थियो। विभागका अनुसार जनवरी ५ सम्मको सरदर न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको छ। यस्तै, जोमसोममा माइनस ४.२, जिरीमा माइनस १.१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड गरिएको छ।काठमाडौँसहित पहाडी भेगमा पनि न्यूनतम तापक्रममा उल्लेखनीय गिरावट आएको छ। शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा आइतबार ४ डिग्री र सोमबार ३.५ डिग्री सेन्टिग्रेडमा झरेको छ। मौसमविद् डेबिड ढकालका अनुसार यो तापक्रम यस दिनको सरदरभन्दा कम नभए पनि यस जाडोयामकै न्यूनतम तापक्रम हो। काठमाडौँमा यस समयमा सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेन्टिग्रेड रहने गरेको छ। यसैगरी डडेलधुरामा २.१ र दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो बढी बढेको छ। भैरहवामा न्यूनतम तापक्रम तीव्र रूपमा घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ, जहाँ आइतबार ११.४ डिग्री सेन्टिग्रेड थियो। नेपालगन्ज र घोराहीमा ६.८ तथा धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम कायम भएको छ।

पूर्वी तराईमा भने आइतबारको तुलनामा तापक्रम केही बढेको छ। विराटनगरमा आइतबार १२ डिग्री रहेको न्यूनतम तापक्रम सोमबार १३.१ डिग्री पुगेको छ भने झापाको चन्द्रगढीमा १३ बाट १३.३ डिग्री सेन्टिग्रेड पुगेको छ। जनकपुर र सिमरामा भने तापक्रम झन्डै यथावत् रहेको महाशाखाले जनाएको छ। चिसो बढेसँगै तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो बढ्ने भएकाले थप सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, चिसो बढ्दै जाँदा स्वास्थ्य समस्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। दीर्घरोगी, मुटु तथा दमका बिरामी, गर्भवती र सुत्केरी महिला, वृद्धवृद्धा तथा साना बालबालिकालाई चिसोबाट जोगाउन विशेष ध्यान दिन भनिएको छ। घरभित्र न्यानो वातावरण कायम राख्न र विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा पोषणयुक्त खाना उपलब्ध गराउन सुझाव दिइएको छ।

स्वास्थ्य मन्त्रालयले कामकाजी व्यक्तिलाई पनि न्यानो कपडा लगाउने, प्रशस्त तातो झोलिलो पदार्थ सेवन गर्ने र चिसोबाट बच्ने उपाय अपनाएर काम गर्न आग्रह गरेको छ। वर्षा नहुँदा काठमाडौँलगायत स्थानमा वायु प्रदूषणसमेत बढेकाले मास्क प्रयोग गरेर मात्र यात्रा गर्न मन्त्रालयले सुझाव दिएको छ। चिसो र प्रदूषणका कारण श्वासप्रश्वास तथा घाँटीसम्बन्धी रोग बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्