वीरगञ्जमा कर्फ्यु आदेश दिउँसो १ बजेसम्म थप



वीरगञ्ज,पुस २२ । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा जारी कर्फ्यु आदेश मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि थप गरेको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु अवधि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु आदेशलाई पुनः दिउँसो १ बजेसम्मका लागि विस्तार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल विवाद समाधानका लागि सम्बन्धित पक्षहरूसँग संवाद तथा पहल भइरहेको छ।

जारी कर्फ्यु आदेशअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर आइतबारदेखि वीरगञ्जमा दुई समुदायले निरन्तर प्रदर्शन गर्दै आएका छन्। यसका कारण क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्